शान्तिको गीत कसैले सुनेन
By Masti Entertainment - Monday, April 11, 2011
विमल खतिवडा -
पर्वत, चैत्र २९ - उमेरले सात दशक पार गरे पनि गीतकार शान्तिनारायण श्रेष्ठ फुर्तिलै छन् । ६ दशक अवधिमा झन्डै सात सयभन्दा बढी रचना पस्किसकेका श्रेष्ठ गीतकार बन्नुमा धवलागिरि क्षेत्रको लोक सांस्कृतिक विशेषताले पनि काम गरेको छ । बाल्यकालदेखि नै दोहोरी गीत गायन र लेख्नमा सक्रिय उनी एक जमानाका दोहोरी गायक पनि हुन् ।
'उमेरमा त स्वर पनि राम्रै थियो, तीन दिनसम्म लगातार दोहोरी गीत गाएको पत्तै हुन्थेन,' कुश्माबजारमा बहिनीसँग बस्दै आएका श्रेष्ठले भने, 'अब शरीरसँगै स्वर पनि बूढो भएछ ।' तैपनि श्रेष्ठ रचना फुराउन कत्ति पनि समय लगाउँदैनन् । आधा घन्टामै सन्दर्भले मागेका गीत र कविता तयार पारिदिन सक्छन् । मोफसलमा बसेर राम्रो गीतकारको परिचय दिन सफल भए पनि उनले गीत रचनाबापत अहिलेसम्म कुनै पारिश्रमिक लिएका छैनन् ।
झन्डै दर्जनको संख्यामा उनका गीति एल्बम बजारमा आइसकेका छन् । 'आजै छ लगन', 'हिलेपानी गाउँ', 'शिरमा तिम्रो' गीति एल्बमले उत्तिकै चर्चा पाए । 'स्पन्दन', 'बैंसका सुसेलीहरू', 'झंकार', 'बाडुल्की' जस्ता गीतिसंग्रह पनि प्रकाशित छन् । 'अब पैसा कमाएर के नै गर्नु छ र ?' सरकारी सेवा निवृत्त उनले भने, 'नामकै लागि गरिरहेको छु, मरेपछि पनि रचनाले मलाई जीवितै राखोस् ।' सिर्जनाकर्ममा लागेकै कारण उनको परिचय फराकिलो बनेको त छ नै, जीवनभर पाएको सम्मानले एउटा कोठै भरिएको छ । म्याग्दीदेखि पोखरासम्म हुने हरेक कार्यक्रममा उनलाई निम्ता आएकै हुन्छन् ।
रचना गर्न मात्रै हैन, गीत-संगीत सुन्नमा पनि उनी त्यत्तिकै लालयीत छन् । संगीत नसुनी एकैछिन पनि बस्न नसक्ने बताउँछन् । 'तर के गर्नु ? अहिलेका गीत सुनि नसक्नु छन्, न सुर हुन्छ न ताल,' उनले गुनासो गरे, 'पुराना मर्मस्पर्शी गीतमा नयाँ संगीत थपी बीचबीचमा अंग्रेजी शब्द घुसाएर गाउँदैमा राम्रो हुन्छ र ?'
पेन्सनबाट आउने प्रतिमहिना आठ हजारमध्ये चार हजार रुपैयाँ गीत रचना प्रकाशनमा खर्चिदै आएका श्रेष्ठ पर्यटन बोर्डले हालै निकालेको एल्बमप्रति पनि गुनासो गरे । बोर्डले पर्यटन वर्ष लक्षित गरेर ७० लाख रुपैयाँ खर्च गरेर निकालेको गीति एल्बम उनलाई चित्त बुझेको रहेनछ । 'पर्यटक लक्षित एल्बम भनिएको छ,' उनले भने, 'पटक-पटक सुनेँ तर कहीँ पनि पर्यटनसम्बन्धी सन्दर्भ नै पाइएनँ ।' एल्बममा पर्यटनसम्बन्धी शब्दहरू नपाएपछि उनी आफैंले सबै जातजाति भाषा-भाषीलाई समेटेर गीत लेखेका रहेछन् । गीत बोकेर राजधानीको नेपाल पर्यटन बोर्डमै पुगेका श्रेष्ठले 'गीत सुनाउन सयौं कोसिस गरे पनि कसैले नसुनेको' गुनासो गरे ।
गीत बजारसम्म ल्याउन दृश्य छायांकनसहित पांच लाख रुपैयाँ लाग्छ । 'मैले गीतबापत केही चाहेको थिइनँ,' उनले भने, 'बोर्डले प्रयोग गरेर पर्यटक भित्र्याए मलाई पुग्यो ।' सहरमा बसेकै आधारमा रचना राम्रो नहुने बताउँदै उनले गाउँले स्रष्टाको रचनालाई पनि सम्मान गर्नुपर्ने सुझाए । साभार : इ कान्तिपुर