साहित्यकार राणाको अन्त्येष्टी
By कृष्णपक्ष - Saturday, March 5, 2011

काठमाडौँ, फागुन २१ - वरिष्ठ साहित्यकार डायमन्ड शम्शेर राणाको हिन्दु परम्परा अनुसार आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिएको छ। स्वर्गीय राणाको पार्थिव शरीरलाई विशिष्ट व्यक्तिको दाहसंस्कार गर्ने स्थलमा उनका छोरा रघुशम्शेर राणाले दागबत्ती दिएका थिए।
अन्त्येष्टिका बेला उनका आफन्त, साहित्यकार, कलाकार र शुभेच्छुकको सहभागिता रहेको थियो।
मृर्गौला, उच्च रक्तचाप, मधुमेहलगायतका रोगले पीडित राणाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ९३ वर्षको उमेरमा शुक्रबार साँझ पौने सात बजे निधन भएको हो।
स्व. राणाले तत्कालीन जहाँनिया राणा शासनको विरुद्धमा विभिन्न साहित्यिक सिर्जना मार्फत जनचेतना फैलाउन सक्रिय रहेर मुलुकमा प्रजातान्त्रिक परिवर्तनका लागि उल्लेखनीय योगदान गरेका थिए।
स्व राणाको सेतो बाघ, बसन्ती, सत्प्रयास, धनको धव्वा, प्रतिवद्व, अनिताजस्ता चर्चित उपन्यासहरूलगायत अन्य कृतिहरू प्रकाशित छन्।
सेतो बाघ नामक उपन्यास नेपाली, अङ्गेजीलगायत १२ भाषामा अनुवाद भएको छ भने उनको पछिल्लो कृति सेकेण्ड लेफ्टीनेन्टदेखि नख्खु जेलसम्म नामक जीवनी सङ्ग्रह प्रकाशित भएको थियो।
उनका श्रीमती बालिका राणा र जेठा छोरा खुश्वु शम्शेर राणाको पहिले नै मृत्यु भइसकेकाले अहिले एक छोरा र एक छोरी छन्।
यसैबीच, पेन नेपालका अध्यक्ष रामकुमार पाँडेले विशिष्ट उपन्यासकार राणाको निधनले नेपाली साहित्य र अन्तर्राष्ट्रिय साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको धारणा व्यक्त गरेका छन्। -रासस







