यसरी गरियो साई बाबालाई समाधिस्थ
By Masti Entertainment - Wednesday, April 27, 2011
पुट्टपर्ती, वैशाख १४ (एजेन्सी)- भारतीय आध्यात्मिक धर्मगुरु साई बाबालाई आज बिहान वैदिक मन्त्रोच्चारणका साथ उनकै आश्रम प्रशान्ति निलयमस्थित कुलवन्त हलमा समाधिस्थ गरियो। अन्तिम संस्कारका केही विधिविधान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भए पनि समाधिस्थ गर्ने कार्यअघि पर्दा लगाइयो।
पर्दाभित्र साई केन्द्रीय ट्रस्टका केही प्रमुख सदस्यहरुको मात्र उपस्थिति थियो। विशिष्ट अतिथिहरुलाई पनि त्यहाँ प्रवेश निषेध गरिएको थियो। उनलाई सात फिट गहिरो र १२ फिट चौडा खाडलमा शयन मुद्रामा इशान कोणमा शीर हुने गरी समाधिस्थ गरिएको बताइएको छ। उनको पार्थिव शरीरका साथमा कुरुक्षेत्रको माटो, नून, चाँदी, सुन र नवरत्न पनि राखिनेछ।
सोही ठाउँमा बाबाको सुनको मूर्ति केही दिनमा नै बनाइने बताइएको छ। अन्तिम संस्कार हिन्दू परम्परा अनुसार भएको थियो। उनलाई सरकारले राजकीय सम्मान दिएको छ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अन्तिम संस्कारको कार्यक्रम बिहान ठीक नौ बजे सुरु भई साढे १० बजेसम्म सकिएको थियो। नौ अङ्कलाई साई बाबाको सबैभन्दा प्रिय र भाग्यशाली नम्बरको रुपमा लिने गरिएकोले नौ बजे 'महासमाधि' प्रक्रिया सुरु भएको बताइएको छ।
उनलाई समाधिस्थ गरिएको कुलवन्त हल त्यही हल हो, जहाँ साई बाबाले आफ्ना प्रवचन दिने र भक्तजनहरुलाई आशीर्वाद दिने गर्थे। आफ्ना भक्तहरुसँगको कुराकानीमा उनले आफूलाई सोही हलमा समाधिस्थ गर्न आग्रह गरेको आश्रमका स्वयंसेवकहरु बताउँछन्।
समाधिस्थल मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणका लागि दर्शन गर्न खुला गरिनेछ।
हिजो साई बाबाको अन्तिम दर्शन गर्न आउनेहरुको भीड बढेपछि छ बजे नै बन्द गरिनुपर्ने कुलवन्त हल मध्यरातसम्म खुल्ला गर्न प्रशासन बाध्य भएको थियो।












