आज

पपक्विन सुक्मित गुरुङ आज टुँडिखेलमा

By Masti Entertainment - Friday, May 13, 2011

तारा चाम्लिङ-
ओ मेरो प्रियतम मेरो प्यार मेरो जीवन,
रुखो सम्झी नदुखाऊ मेरो मन,
ओ मेरो प्रियतम निष्ठुरी भयौ के कारण,
सायद यति नै हो कि तिम्रो प्यास मेरो यौवन ...

८० को दसकमा सुक्मित गुरुङ यही एकल गीतले रातारात स्टार बनिन्। लोक र आधुनिक संगीतको दबदबा चिर्दै यो पपगीतले सनसनी फैलायो। रेडियो नेपालमा फर्माइस नआएको दिनै हुन्थेन। उनलाई सुन्नेहरू भन्थे- सुक्मितको स्वरमा जादु छ। देख्नेहरू त फ्यान नभइरहन सक्थेनन्। उसबेला उनको स्वर, सौन्दर्य, व्यक्तित्व र स्टेज प्रस्तुतिलाई टक्कर दिन सक्ने कोही थिएन। युवा ढुकढुकीमा एउटै नाम थियो- सुक्मित गुरुङ। गीत रेकर्ड भएको ठ्याक्कै तीस वर्ष पुग्यो। आज उनी फेरि टुँडिखेलमा उही गीत गाउँदैछिन् तर बिल्कुलै नयाँ पुस्ताका लागि। आयोजकका अनुसार दिउसोको ठिक दुई बजे सुक्मितलाई हेलिकप्टरबाट मैदानमा उतारिनेछ। ‘पहिलेको जस्तो जोस र उत्साह त कहाँ हुन्थ्यो!' सुक्मित भन्छिन्, ‘तैपनि आयोजकको अनुरोधमा स्टेजमा उत्रँदैछु। हामीजस्ता पुरानाको कलालाई महŒव दिएकाले मैले नाइँ भन्न सकिनँ।'किङ अफ पप भनेर चिनिने गायक ओमबिक्रम विष्टलगायत कलाकारले उनलाई कन्सर्टमा साथ दिनेछन्।

बिहीबार हामीले उनलाई नेपाल एकेडेमीस्थित उनकै अफिसमा भेट्यौं। उनी सिफनको हरियो टपमा थिइन्। तेजिला आँखा, हँसिलो मुहार र साँच्चै आकर्षक व्यक्तित्व। आवरणले होइन, स्वर र गायन अद्भुत भएकाले नै अहिलेसम्म स्रोताको साथ छुटेन। छुट्यो त त्यो उन्माद, जुन उमेरसँगै पातलिँदै गयो। ‘प्रकृतिलाई हेर्ने हो भने पनि हरेक कुरा समयसँगै बद्लिन्छ,' सुक्मित भन्छिन्, ‘यस्ता कुरालाई अस्वाभाविक ठान्नुहुन्न।' स्रोताको त्यो वाहवाही, त्यो पागलपना। स्टारडम गुमाउनुको पीडा कस्तो हुन्छ? उनीसँग यसको जवाफ छैन। यति थाहा छ आफ्नो मन रत्याउँदा स्टार भएको अनुभव नै भएन। ‘नाम कमाउँला, सबैले चिनुन् भनेर मैले कहिल्यै गीत गाइनँ,' उनी भन्छिन्, ‘गीत गाउन खुब मनपर्ने। स्टेज पाए आफैंलाई बिर्सेर, धक फुकाएर गाउन पाए पुग्थ्यो।'

खासमा उनी एयर होस्टेस बन्न चाहन्थिन्। सिक्किम छँदा एयर इन्डियामा एकजना दिदी जागिरे भएपछि सुक्मित पनि आकासमा उड्ने सपना देख्थिन्। त्यो दिदीको बोलीबचन, चालचलनले उनलाई खुब लोभ्याउँथ्यो। तर चाहेको सबै कुरा कहाँ पाइन्छ र! भाग्यले डोर्‍याएर उनलाई काठमाडौं ल्याइपुर्‍यायो। त्यो पनि काठमाडौं घुम्ने बहानामा। दिदीको साथ लागेर आउँदा यहाँ बसौंला भन्ने पटक्कै थिएन। सिक्कममा झैं दिदीहरूसँगको गेटटुगेदरमा दावा ग्याल्मोको ‘सहरभित्र केको हल्ला' गाएपछि उनको गन्तव्य मोडियो। त्यस भेलामा धनन्जय थापा, बुलु मुकारुङ, प्रकाश गुरुङजस्ता संगीतकर्मी पनि रहेछन्। उनले तुरुन्तै पूजा साबुन र दुगड स्टिलको विज्ञापनमा जिंगल गाउने मौका पाइन्। रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि पहिलो एल्बम ‘कहीँ त बिर्सनु तिमीले' निस्क्यिो। त्यसपछि सुक्मित रातारात हिट।

उसबेला एफएम र प्राइभेट रेकर्डिङ स्टुडियो थिएन। गाउनलाई रेडियो नेपालमा स्वर परीक्षा दिनुपर्थ्यो। उत्तीर्ण नभइन्जेल गीत रेकर्ड गराउन पाइन्थेन। ‘त्यतिमात्र कहाँ हो र! अहिलेजस्तो प्रविधि थिएन,' सुक्मित सुनाउँछिन्, ‘रेकर्डिङका बेला वाद्यवादक, गायकमध्ये एकजनाले मात्र बिगारे पनि फेरि सुरुदेखि गाउनुपर्थ्यो। तैपनि गाउनुको वास्तविक मज्जाचाहिँ उसैबेला थियो,' अचेल स्टुडियोमा एकएक टुक्रा गाउँदै जोड्न मिल्छ। स्वरको पिच नपुगे कम्प्युटरले मिलाउन सकिन्छ। जो पनि सजिलै गायक बन्न सक्छन्।

कतिपयले नाम कमाउने रहरमा पैसा बगाएरमात्र गीत प्रसारण गरेको पाइएको छ। उनको बुझाइमा नेपालका रेडियो र टिभी स्टेसनले संगीतको नाममा शोषण गर्ने काम बन्द गर्नुपर्छ। ‘सञ्चारको यही दुरुपयोगले नेपालको सांगीतिक क्षेत्रलाई मार परेको हो,' उनी भन्छिन्, ‘यस्तो देख्दा त गाउने जाँगर नै ओइलाउँछ।'

धेरैले उनलाई नयाँ एल्बम कहिले निकाल्ने भनेर सोधिरहन्छन्। मेहेनत गरेर एल्बममा आठवटा गीत तयार पार्‍यो, एफएमहरूले एउटामात्र बजाइदिन्छन्। सबै गीतको म्युजिक भिडियो बनाएर साध्य पनि छैन। गीतहरू त्यसै मरेर जान्छन्। पछिल्लो यस्तै कुरा र सांगीतिक माहोलले आफूलाई निरुत्साही बनाएको उनी सुनाउँछिन्। ‘धेरै मेहेनत गरेर गाउनुपर्ने खालको गीत कसैले बनाइदिए हुन्थ्यो,' उनी सुनाउँछिन्, ‘कम्पोजिसन सजिलो हुनाले गाउनुको मज्जा नै हराइसक्यो। चुनौती पार गर्नुजस्तो रमाइलो अरू के होला र!'

गान्तोकको पाल्जोर नाम्गेल स्कुल छँदा गाउनका लागि उनले खुबै चुनौती खेपिन्। ‘भागेर गीत गाउन जाँदा धेरैपटक आप्पा (बुबा) आमाको कुटाइ खाएँ,' उनी सम्झन्छिन्, ‘तर पनि गाउन छोडिनँ। यति हुँदाहुँदै पनि गायिका हुन्छु भन्नेचाहिँ पटक्कै थिएन।'गान्तोकको बजारमा हुर्केकी सुक्मित अलिपर गाउँमा भएकी फुपुको घर जाँदा खुबै रमाउँथिन्। धानबारीमा फुरुंग पर्दै ‘माइतीघर' गीत गाउँदै नाचेको उनलाई अहिलेजस्तो लाग्छ। रेडियोमा सुक्मितको गीत बज्दा उनकी आमा त्यही सम्झँदै अरूलाई सुनाउँछिन् रे- त्यो त साँच्चै गाउनैका लागि जन्मेको रहेछ।

स्टेजमा एकचोटि पनि धकाएको सम्झना छैन उनलाई। बरु गाउन पाउँदा दंग पर्थिन् र आत्मविश्वास झन् बलियो हुन्थ्यो। १४ वर्षको उमेरमा पहिलोपल्ट स्टेजमा गाउँदाको अनुभव पनि यस्तै थियो। तर गीत गाएर पैसा कमिँदैन, आत्मसन्तुष्टि चाहिँ मिल्छ। त्यसैले एल्बम निकाल्ने उनको धोको अझै मरेको छैन। तर कहिले भन्ने उनी आफैंले निधो गरेकी छैनन्। संगीतको कमाइले उनले जोडेको यादगार चिज एउटा क्यासेट प्लेयर रहेछ। ८० को दसकमा नेपाल, बंगलादेश र पाकिस्तानको संयुक्त लगानीमा बनेको ‘जमिन आसमान' का लागि गाउँदा लाहोरमा किनेको त्यो प्लेयरमा उनले धेरै गीत सुनिन्। विशेषगरी कन्ट्री सङ। एब्बा, क्रिस्टल ग्यालका गीत प्लेयरमा सुन्दै गाउँथिन्। सरगम रियाज गर्न पनि उनले त्यसैको सहारा लिइन्।

उनले आफूलाई कहिल्यै सेलेब्रिटी ठानिनन् र बन्ने रहर पनि गरिनन्। चित्तबु‰दो गीत कसरी गाउने भन्नेमात्र उनको ध्याउन्न हुन्थ्यो। खासगरी पत्रपत्रिका, रेडियो र टिभीको अन्तर्वार्तामा छाउन उनलाई रहर लाग्दैन। विद्युतीय सञ्चारमाध्यमले त्यसको सट्टा गीत बजाइदिए हुन्थ्यो भन्नेचाहिँ उनको मनमा रहेछ। गत सातामात्र नेपालको लोकप्रिय टिभी च्यानलमा अन्तर्वार्ता दिन मानिनन्।‘व्यावसायिक कुरो गर्ने हो भने ठिक छ। तर निजी कुरा पस्केर बजारमा नाम बिकाउने कुरामा मलाई रुचि छैन,' उनी भन्छिन्, ‘व्यक्तिगत कुरा आफूमा सीमित हुने भएकाले नै व्यक्तिगत भनिएको हो।'बच्चु कैलाश, नारायण गोपाल, दावा ग्याल्मोका गीत मनपराउने सुक्मितलाई आफैंले गाएकामध्ये ‘चिसो बतास' एकदम मनपर्छ। ‘त्यो गीत गाउँदा मेरो जिउमा एकप्रकारको तरंग पैदा हुन्छ, काँडा उमि्रन्छ,' उनी भन्छिन्, ‘त्यो आनन्दलाई म मेडिटेसन ठान्छु।'साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement