नेपाल पर्यटन बर्ष गुन्जियो न्युयोर्कमा
By Masti Entertainment - Sunday, May 29, 2011

लोकतान्त्रिक गणतन्त्र दिवसको मौका पारेर 'पर्यटन बर्ष प्रचार प्रसार' नाम दिईएको सो कार्यक्रममा सहभागीहरुको अमेरिकीहरुलाई आग्रह थियो 'कृपया, विश्वकै सुन्दर देश नेपाल भ्रमण छुटला है ।' नेपाल भ्रमण गर्नेमा पर्यटकहरुको सुचीमा अमेरिका दोस्रो स्थानमा छ । कार्यक्रमको जनसम्पर्क समिती, न्युयोर्क च्याप्टरले गरेको थियो । न्युयोर्क शहरका प्रमुख चार स्थान टाईम्स स्वाक्यर, एम्पायर स्टेट बिल्डिङ, ग्राउण्ड जिरो र साउथ फेरी (स्टाच्यु लिवर्टी जाने स्टेशन) मा प्रवासी नेपालीहरुले पर्यटन बर्ष बारे बटुवाहरुलाई बुझाएका थिए ।
कार्यक्रमका लागि शनिबार बिहान नेपालीहरुको बसोबास क्षेत्र ज्याक्सन हाईटको थकाली किचेनमा जमघट भएको थियो । नेपाली संघ संस्थाहरुका प्रतिनिधीहरु, व्यापारी, खेलाडी लगायत सर्वसाधारणहरुको उपस्थिती थियो । सयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी उप- प्रतिनिधी शंकर बैरागीले नेपाल पर्यटन बर्षको बारेमा जानकारी दिएका थिए भने एवम आयोजकको तर्फबाट मुनेन्द्र नेम्वाङले कार्यक्रमको ढाँचा प्रस्तुत गरेका थिए । त्यसपछि पर्यटन बर्ष प्रचार प्रसार कार्यक्रम शुरु भएको थियो । च्याप्टरका अध्यक्ष नविन शेरचनको नेतृत्वमा पर्यटन बर्ष लागो अकिंत सेतो टिर्शट धारी झण्डै डेढ सय प्रवासीहरु हातमा नेपालको झण्डा र पर्चा पम्पेल्टको साथमा न्युयोर्कको केन्द्र मानिने म्यानहाटन तर्फ बढेको थियो ।
रोशन ढुङ्गाना, जेनेश गुरुङ, शारदा क्षेत्री, पुनम मल्ल रानामगर र बिरेन्द्र लिम्बुको संयोजकत्वमा समुह चार तर्फ विभाजन भएको थियो । साउथ फेरीमा समुहको नेतृत्व नेपाली रजतपटकी नायिका गौरी मल्लले गरेकी थिईन् । उनलाई गायक तिलक श्रेष्ठ, जगदिश समाल, अभय ढुङगेल लगायतकाले साथ दिएका थिए । कार्यक्रमका सहयोगी महेश मल्लका अनुसार झण्डै पाँच घण्टा सम्म कार्यक्रम संन्चालन गरिएको थियो । सयुक्त राष्ट्र संघीय नेपाली मिसनले प्रचार प्रसारका लागि सामाग्रीहरु एवम टिशर्ट उपलब्ध गराएको थियो । आयोजकको तर्फका रोशन ढुङ्गानाका अनुसार झण्डै दशौं हजार अमेरिकीहरु यसबाट लाभान्वित भएका छन् । साभार : इ कान्तिपुर







