सिएनएन हिरो कोईराला सहितको टोली कोरियामा
By कृष्णपक्ष थापा - Friday, August 12, 2011
२५ साउन, कोरिया ।
रघु त्रिपाठी
दक्षिण कोरिया माईती नेपालका प्रमुख तथा सिएनएन हिरो अनुराधा कोईराला सहितको नेपाली पत्रकारहरुको एक टोली मंगलबार कोरिया आइपुगेको छ ।
कोरियाको खाङृवन्दो, ईन्जेगुन, मान्हेमाउल स्थित फेकताम्सा गुम्बामा यहि १२ तारिख हुन गई रहेको १५ औ मान्हे पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन सो टोली कोरिया आइपुगेको हो । सन् २०११ को मान्हे पुरस्कार सिएनएन हिरो कोईरालालाई सोही दिन हस्तान्तरण गर्ने कार्यक्रम छ ।
टोलीमा कोईरालाका साथै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा एशिया पत्रकार महासंघका उपाध्यक्ष विष्णु निष्ठुरी, एशिया पत्रकार महासंघ नेपाल शाखाका उपाध्यक्ष हेमन्त काफ्ले र पत्रकारद्धय विष्णुप्रसाद सुवेदी र मनोजराज पाण्डे छन् ।
कोरियामा प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान दिने प्रजातन्त्र सेनानी तथा साहित्यकार भिक्ष् मान्हेको नाममा प्रत्येक वर्ष विश्वको मानवअधिकार,शान्ति,सामाजिक,धार्मिक,साहित्य,सांस्कृति तथा विज्ञानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाई उक्त पुरस्कार प्रदान गर्दै आइएको छ ।
यसअघि उक्त पुरस्कारबाट दक्षिण अफि्रकी राष्ट्रपति नेलशन मन्डेला, कोरियाली राष्ट्रपति किम दे जुङलगायतलाई प्रदान गरिसकिएको छ ।








