आज

रिबन काट्न कुन कलाकारलाई कति रकम चाहिन्छ?

By Masti Entertainment - Tuesday, April 19, 2011

स्मृति ढुंगाना, काठमाडौं, वैशाख ६- सुटिङमा अभिनय गर्दा निर्देशकको ‘कट'मा रोकिने कलाकारहरू सुटिङबाहिर भने आफै ‘कट' गर्न थालेका छन्। फिल्मको ‘कट' मुखले बोलेर गरिन्छ भने गैरफिल्मी ठाउँमा कलाकारले गर्ने ‘कट'मा कैंची अनिवार्य छ।
ब्युटी पार्लर, रेस्टुरेन्ट, स्कुल/कलेज र पसलको उदघाटनमा रिबन काट्ने फिल्म कलाकारको संख्या पहिलेभन्दा बढेको छ। पारिश्रमिक नपाउँदा सुटिङ रोक्नेसम्म अधिकार राख्ने कलाकारहरू कैंची चलाउन भने उदार छन्। उनीहरू निःशुल्क हाजिर हुन्छन्।


कैंची चलाउने मामिलामा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरदेखि भर्खरै स्थापित कलाकारसमेत उत्तिकै सक्रिय देखिन्छन्। आफ्नो उपस्थितिले नयाँ कामको सुरुवात गर्नेलाई हौसला पुग्ने ठानेर सित्तैमा जाने गरेको बताउँछिन् करिश्मा। ‘ठूला संस्थादेखि साना पसलको निःशुल्क उद्घाटन गरेकी छु। अचेल यस्तो काममा धेरै निम्ता आउन थालेको छ,' उनी भन्छिन्।
निम्तो बाक्लिन थालेपछि पारिश्रमिक लिएरमात्र कैंची चलाउने सोचमा पुगेको उनी बताउँछिन्। यो काम ‘करिश्मा फाउन्डेसन' मार्फत् हुने उनले जानकारी दिइन्। ‘अब भने मलाई रिबन कटाउनेले पैसाको व्यवस्था गर्नुपर्छ,' कति पैसा लिने भन्ने कुरा कार्यक्रमको प्रवृत्तिमा भरपर्ने उनले जनाइन्। सामाजिक हितका कार्यक्रममा भने पैसा नमाग्ने उनको प्रण छ।

उद्‍घाटन कार्यक्रमको निम्ता आए पनि आफू नजाने गरेको अभिनेत्री रेखा थापा बताउँछिन्। अहिलेसम्म आफूले तीनवटा कार्यक्रममा रिबन काटेको उनलाई सम्झना छ। यस्ता कार्यक्रममा निःशुल्क सहभागी हुनु हुँदैन भन्ने उनको मान्यता हो। ‘कसैले बोलाउँछ भने पक्कै पनि पैसाको कुरा हुनुपर्छ। ६० हजारदेखि एक लाखसम्म माग्छु म,' यति पैसा तिरेर आफूलाई कार्यक्रम उद्घाटन गराउने मान्छे भने रेखाले पाएकी छैनन्। बरु पैसा दिने शर्तमा बोलाएर रित्तो हात फर्काएको अनुभव छ उनीसँग।


नजिकका साथीभाइको निम्तोमा करिब चारवटा कार्यक्रमको उद्घाटन गरेकी छिन् अभिनेत्री नन्दिता केसीले। तर, यस्ता कार्यक्रमबाट न उनले पैसाको अपेक्षा गरेकी छिन् न त कसैले दिएका नै छन्। पुराना कलाकारले ‘ट्रेन्ड' बिगारेकाले नयाँलाई समस्या परेको उनी गुनासो गर्छिन्। ‘सिनियर कलाकार सित्तैमा उपस्थित हुन्छन्। हामीले पैसा माग्दा नराम्रो भइन्छ,' नन्दिताको पीडा छ।


यस्तो काम निःशुल्क गर्न नहुने बताउँछन् अभिनेता राजवल्लभ कोइराला पनि। तर, उनले पनि अहिलेसम्म यस्तो सेवा निःशुल्क दिँदै आएका छन्। ‘अब त कार्यक्रम हेरेर पैसाको माग गर्छु,' उनी भन्छन्, ‘कम्तिमा एक घन्टाको १० हजार त लिनै पर्ला नि।'
मिस नेपाल भएपछि सुगरिका केसीको हातबाट धेरैले रिबन कटाए। उनलाई यस्तो कामबाट पैसा पाइन्छ भन्ने हेक्का नै भएन। ‘खोइ, यसबारे कसैलाई पनि थाहा छैन जस्तो छ। माग्न पनि समस्या नै हुन्छ होला,' उनी भन्छिन्। पैसा नदिए पनि उपहार र सहुलियत पाउनुपर्ने उनको धारणा छ। विदेशतिर सेलिब्रेटीको रेटिङ हुने भएकोले यो ठूलो कुरा भए पनि नेपालमा यसको अभ्यास नै सुरु हुन नसकेको देख्छिन् उनी। ‘एउटा कार्यक्रमबाट कम्तीमा ४० हजार त पाउनै पर्ने हो,' सुगरिकाले तोकिन्।

शौचालय बाहेक सबैथरी कार्यक्रमको उद्घाटनमा पुगेको बताउँछन् हास्यकलाकार दीपकराज गिरी। तर, कतैबाट पैसा नपाएको उनले बताए। स्कुलका कार्यक्रममा भने उनले पैसा लिन थालेका छन्। ‘यस्ता कार्यक्रमको पैसा सडक बालबालिकाको नाममा खोलिदिएको खातामा जान्छ,' उनले ५० हजारभन्दा बढी रकम लिने गरेको समेत बताए। उनी नेपाली कलाकारले रकम लिएर मात्र उद्घाटन गर्ने पारम्परा सुरु गर्नुपर्नेमा जोड दिन्छन्। पछिल्लो समयमा पैसाको कुरा गर्न थालेपछि आयोजकलाई आफूलाई रिबन काट्ने निम्तो दिन छाडेको अनुभव अभिनेत्री ऋचा घिमिरेको छ। ‘सबै कलाकार एकमत भए कसैले पनि निःशुल्क काम लगाउँदैनन्,' उनले सुझाइन्। उनी पनि कार्यक्रम हेरी न्यूनतम २० हजार रुपैयाँ पाउनुपर्ने बताउँछिन्।


रिबन काटेको कति?

(नाफामुखी कम्पनी वा कार्यक्रमको उदघाटन गरेबापत कलाकारहरूले अपेक्षा गरेको शुल्क)
कलाकार न्यूनतम/पारिश्रमिक
करिश्मा मानन्धर कार्यक्रम अनुसार
रेखा थापा ६० हजार
राजवल्लभ प्रति घन्टा १० हजार
दीपकराज गिरी ५० हजार
ऋचा घिमिरे २० हजार
नन्दिता केसी कार्यक्रम अनुसार
सुगरिका केसी ५० हजार

साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement