आज

वरकन्या अमेरिकामा, कर्मकाण्ड नेपालमा

By Masti Entertainment - Saturday, May 7, 2011

ललितपुर, वैशाख २५ - शनिबार दिउँसो काठमाडौंका हरिहर र जया आचार्य सगुन बोकेर एक्ला छोराका लागि बुहारी माग्न
एकान्तकुनाको रुबी पार्टी प्यालेस पुगे । केटी पक्षका तर्फबाट पुरेत रामजी खतिवडाले 'किन पाल्नुभा होला ?' भने । केटा पक्षका ५१ वर्षीय पुरेत एकनारायण अर्यालले भने, 'कौडिन्यान गोत्रमा जन्मेको, मेघिनीप्रसादको पनाति, एककृष्णको नाति, बत्तिसपुतली निवासी हरिहर र जयाको सुपुत्र हाल अमेरिकामा बस्ने ३२ लक्षणयुक्त मृदभाषी, विद्यामा तेज, २९ वर्षीय लोकप्रख्यात नाम आशुतोष आचार्यका लागि यस्तै किसिमकी कन्या पाए दाम्पत्य जीवनमा जोडी मिलाउन चाहेका छौं, आजको शुभ साइतमा हजुरहरू मञ्जुर भए कुरा अघि बढाउनुहोस् ।'

बेहुलाका तर्फबाट आएको प्रस्ताव सुनेपछि केटीतर्फका पुरेतले अभिभावकको मञ्जुरीमा कुरा छिनाउँदै भने, 'शुभ बेला, शुभ साइत हेराइ कन्यादान लिन आउनुहोला ।' कुरा छिनिएपछि हलमा भेला भएका दुवै पक्षका सय हाराहारी आफन्तले ताली बजाउँदै बिहेको छिनोफानो भएकोमा स्वागत गरे । हिन्दु विधिअनुसार केटीका ५३ वषर्ीय बुवा अजयकुमारले हुनेवाला ज्वाइँलाई पानसुपारी दिनुपर्ने बेला भयो । पुरेतले पानसुपारी दिन भनेपछि बेहुलाको बदला उनका ६० वषर्ीय बुवा हरिहर अघि सरे । यो दृश्य देखेपछि आफन्तजन चकित पर्दै मुखामुख गर्न थाले, 'वर/कन्या खोइ त ?'

'ऊ भित्तामा', छेउमा ल्यापटप चलाउँदै गरेकी नेपाल टेलिकमकी जागिरे कञ्चन जैसवालले प्रोजेक्टरबाट भित्तामा फ्याँकिएको 'लाइभ' दृश्य देखाउँदै भनिन् । हलमा भोज खान आएका दुवै पक्षका अभिभावकका आँखा भित्तातिर सरे । जहाँ हुनेवाला बेहुला आशुतोष र बेहुली हनी जैसवाल हलका दृश्य हेर्दै/सुन्दै रमाइरहेका थिए । उनीहरू थिए, काठमाडौंदेखि १४ हजार किलोमिटर हवाई दूरीमा रहेको अमेरिकाको टेक्सासस्थित डायलस सहरमा । तर दिउँसो १ बजेर ३१ मिनेटको साइतमा एकान्तकुनामा विवाह निश्चय (इङ्गेजमेन्ट) भइरहेको थियो । त्यसपछि दुवै पक्षका आफन्तले पालैपालो दुवैलाई शुभकामना र सफल दाम्पत्यका लागि शुभकामना दिन थाले ।
केही सुझाउँदै थिए, 'ए हनी तिम्रो सारीको फेरो मिलाऊ, हात अगाडि राख, दुवै एकैसाथ बस, ल गज्जब, जोडी राम्रो छ,' उनीहरू उताबाट जवाफ फर्काउँदै थिए, 'धन्यवाद ।' यसरी हालखबर सोध्ने र नातागोता चिनाउने क्रमसँगै कर्मकाण्ड पनि चलिनै रह्यो ।
उता अमेरिकामा शुक्रबार रातको २ बज्दै थियो । केही साथीहरूका साथ बेहुलीको फोर्थवोर्थस्थित अपार्टमेन्टमा पुगेका थिए आशुतोष । नेपाल र अमेरिकामा भइरहेका दृश्य सामाजिक सञ्जाल स्काइपको भिडियो कलमार्फत आदानप्रदान भइरहेका थिए ।

ल्यापटपको स्त्रिmनमा देखिरहेको दृश्यलाई प्रोजेक्टरमार्फत हलमा प्रत्यक्ष प्रसारण गरिँदै थियो र उनीहरूको आवाज 'हाई साउन्ड' क्षमता भएका स्पिकरमार्फत सुनाइँदै र सुनिँदै थियो । विधिअनुसार हनीका बुवाले आशुतोषका नाममा दिएको पानसुपारी केटाका बुवाले छोइदिए । पुरेत रामजी खतिवडाले ल्यापटपको माइक्रोफोन नजिकै मुख पुर्‍याउँदै 'ल साइत भयो, टीकाटालो गर्नुहोस्' भन्दै मन्त्र पढ्न थालेपछि अमेरिकामा रहेका आशुतोष र हनीले एकअर्कालाई टीका लगाई माला पहिराए । सगुन खुवाए । यता सबै जनाले खुसियालीमा फेरि थपडी मारे । जावालाखेलमा दुवै पक्षले सगुनमा ल्याएका फलफूल माछा, मिठाई, दही साटासाट गरे । यी लगायतका दृश्य अमेरिकामा केटाकेटीले हेरिरहेका थिए । पेसाले सरकारी सेवामा रहेका इन्जिनियर केटीका बुवा अजयकुमारले कन्या माग्न आएकाजति सबैलाई टीका लगाई दान दक्षिणा दिए । त्यसपछि भोज खुल्यो । यता नेपालमा साँझ ढल्दै गरेका बेला सबै काम सकिएपछि दुवै पक्ष आ-आफ्ना घर लागे । उता अमेरिकामा शनिबारको बिहानी हुँदै थियो ।

पाँच छोरीमध्येकी जेठी छोरीको इङ्गेजमेन्टका लागि जैसवाल दम्पतीले दुईपटक अमेरिका जान भिसाका लागि आवेदन दिएका थिए । तर काठमाडौंस्थित दूतावासले भिसा नदिएपछि दुवै परिवारको सहमतिमा उनीहरूले राजधानीमा विवाह निश्चय गरेका हुन् । १० वर्षदेखि अमेरिकामा रहेका कम्प्युटर सफ्टवेयर इन्जिनियर आशुतोष र व्यवस्थापनमा स्नातक सकेकी ५ बहिनीमध्येकी जेठी हनी असार २४ गते अमेरिकामा बिहे गर्दैछन् । आचार्य दम्पतीले बिहेमा जाने भिसा पाइसकेका छन् भने जैसवाल दम्पतीले भिसा नपाएको बताए । 'उहाँहरू नगए पनि हामी बिहेमा जाने पक्कापक्की छ,' सरकारी सेवाबाट अवकाश प्राप्त आशुतोषका बुवाले कान्तिपुरलाई भने । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement